कञ्चनरूप, १९ असार । सप्तरीको राजविराजस्थित कारागार कार्यालयमा ड्युटीमा रहेका एक प्रहरी जवान आफ्नै साथीले बोकेको राइफलबाट गोली चल्दा गम्भीर घाइते भएका छन्। बिहीबार राति सुरक्षा गार्ड ड्युटीकै क्रममा आकस्मिक रूपमा गोली चलेको हो।
घाइते हुनेमा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर धनुषा दरबन्दी भई हाल राजविराज कारागारमा कार्यरत २२ वर्षीय प्रहरी जवान बिसोजित राय रहेका छन्।
प्रहरीका अनुसार बिहीबार राति कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नं. ३ मा प्रहरी जवान बिसोजित राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा खटिएका थिए। राति शौचालयबाट आफ्नो पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं. ४ मा ड्युटीमा रहेका अर्का प्रहरी जवान २२ वर्षीय अजय कुमार महतोले बोकेको एसएलआर (SLR) राइफलबाट अचानक एक राउण्ड गोली पड्किएको थियो।
गोली बिसोजितको कम्मरमाथि ढाडमा लागेको छ। घटना लगतै उनलाई उद्धार गरी तत्कालै गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको थियो। त्यहाँ प्राथमिक उपचार गरेपछि थप उपचारका लागि धरानस्थित घोपा क्याम्प (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) रेफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपि) हेमराज घिमिरेका अनुसार घटना लगतै गोली चल्ने राइफलसहित प्रहरी जवान अजय कुमार महतोलाई नियन्त्रणमा लिइएको छ। राइफल कसरी र के कारणले चल्यो भन्नेबारे प्रहरीले हिरासतमा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको छ।











