उत्सव आचार्य
कञ्चनरूप, २३ साउन । सप्तरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी बनैनिया र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार राजगढ गाउँपालिका–१ स्थित कजरा जाने नहर छेउमा रहेको सिमलीको झ्याङबाट गाँजा बरामद गरेको हो।
प्रहरी टोलीले शंकास्पद अवस्थामा लुकाइराखिएको ५ बोरा खानतलासी गर्दा कुल १९० किलो ५२० ग्राम लागुऔषध गाँजा बरामद गरेको जनाएको छ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। गाँजा कसले र कुन प्रयोजनका लागि उक्त स्थानमा लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।












