कञ्चनरूप, ३० भदौ । सप्तरीको कञ्चनरूप नगरपालिका–११ भुवनपट्टीमा चट्याङ लागेर मंगलबार एक महिला घाइते भएकी छन्।
चट्याङ लागेर स्थानीय ४५ वर्षीया दुख्नी देवी विश्वकर्मा घाइते भएकी हुन्। स्थानीयका अनुसार बिहानदेखि भइरहेको वर्षाका क्रममा अचानक चट्याङ पर्दा आफ्नै घरअगाडि सडकमा बसिरहेकी विश्वकर्मालाई चट्याङ लागेको हो।
चट्याङ लागेर गम्भीर घाइते भएकी विश्वकर्मालाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि कञ्चनरूप नगरपालिका–१२ स्थित धर्मेश्वर अस्पताल पुर्याएका थिए। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
धर्मेश्वर अस्पतालका अनुसार घाइते विश्वकर्माको अवस्था अहिले सामान्य रहेको छ।
मंगलबार बिहानैदेखि सप्तरीको उत्तरी क्षेत्रमा भीषण वर्षासँगै पटक–पटक चट्याङ परेपछि स्थानीयवासी त्रसित भएका छन्।













