समाचार समाज

कञ्चनरूपमा ३० वटा जंगली हात्तीको आतंक, ३ बिघा धानबाली नष्ट

कञ्चनरूप, ३ असोज । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ रुपनगर, साउनपुरस्थित पौडाहा खोला छेउमा गएराति करिब ३० वटा जंगली हात्तीको समूहले धानबालीमा व्यापक क्षति पुर्‍याएको छ। हात्तीको समूहले धानबाली नष्ट गरेपछि दर्जनौँ किसान प्रभावित भएका छन्।

रातको समयमा खेतमा प्रवेश गरेको हात्तीको समूहले किसानले मेहनत र लगानी गरेर लगाएको धानबाली कुल्चिएर तथा खाएर नष्ट गरेको हो। प्रारम्भिक विवरणअनुसार मानबहादुर श्रेष्ठ, केशव श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, दुर्गा श्रेष्ठ, पदम श्रेष्ठ, मनकुमार श्रेष्ठलगायत दर्जनौँ किसानको करिब ३ बिघा क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ।

घटनाको जानकारी पाएलगत्तै कञ्चनरूप नगरपालिका–१२ का वडा सदस्य जैनुद्दिन मियाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। टोलीले क्षतिग्रस्त खेतको स्थलगत अनुगमन गर्नुका साथै प्रभावित किसानसँग भेटेर क्षतिको अवस्थाबारे जानकारी लिएको जनाएको छ।

स्थानीय किसानका अनुसार यस क्षेत्रमा प्रत्येक वर्ष कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जंगली हात्तीले खेतीबालीमा क्षति पुर्‍याउँदै आएका छन्। हात्तीको नियमित आवागमनका कारण किसानहरू वर्षौंदेखि त्रासमा खेती गर्न बाध्य छन्।

किसानहरूले एकातर्फ खेतीमा गरिएको ठूलो लगानी र मेहनत खेर जाने अवस्था रहेको र अर्कोतर्फ हात्तीको समूहका कारण रातको समयमा खेतमा जानसमेत असुरक्षित महसुस हुने गरेको बताएका छन्।

प्रभावित किसानहरूले सम्बन्धित निकायसँग क्षतिको विस्तृत स्थलगत निरीक्षण गरी वास्तविक मूल्याङ्कन गर्न, पीडित किसानलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन सुरक्षा व्यवस्था गर्न माग गरेका छन्।

You cannot copy content of this page