कञ्चनरूप, ४ असोज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ कटैया फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा प्रहरीले करिब २० क्विन्टल (२ हजार केजी) गाँजा बरामद गरेको छ।
शनिबार गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, सप्तरी र अन्य सुरक्षा निकायको संयुक्त टोलीले डाक्नेश्वरी नगरपालिका–६, कटैया गाउँस्थित क्षेत्रमा खोजतलासी गरेको थियो।
खोजतलासीका क्रममा स्थानीय भोला सदा र मंगल मुखियाको घरबाट गाँजा बरामद गरिएको हो। भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका, अन्दाजी २ हजार केजी (२० क्विन्टल) गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित भोला सदा र मंगल मुखियालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको छ।
बरामद पदार्थको परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा निकायले जनाएको छ।














