कञ्चनरूप, ६ असोज । नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–१० को वडा सभापतिमा विनायक कुमार गोईत (सन्तोष) सर्वसम्मत चयन भएका छन्।
असोज ४ गते आइतबार सम्पन्न वडा अधिवेशनले गोईतलाई वडा सभापतिको जिम्मेवारी दिएको हो। अधिवेशनबाट वडा सभापतिसँगै क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत चयन भएका छन्।
स्थानीय नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूबीच सहमति कायम भएपछि निर्वाचन प्रक्रिया प्रतिस्पर्धाविहीन रूपमा सम्पन्न भएको जनाइएको छ। सर्वसम्मत चयन भएका गोईतलाई निर्वाचन अधिकृत पुष्प बहादुर कार्कीले प्रमाणपत्र प्रदान गरेका थिए।
प्रमाणपत्र हस्तान्तरण गर्दै निर्वाचन अधिकृत कार्कीले वडा अधिवेशनबाट नेतृत्व सर्वसम्मत रूपमा चयन भएको औपचारिक घोषणा गरेका थिए।

अधिवेशनका क्रममा वडा संगठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सहभागीहरूले वडा तहमा कायम भएको सहमति र एकतालाई आगामी नगर, प्रदेश तथा क्षेत्रीय अधिवेशनसम्म निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
वडा सभापतिमा चयन भएपछि गोईतले आफूलाई जिम्मेवारी प्रदान गरेकोमा पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे। उनले सबैलाई समेटेर संगठनलाई थप मजबुत बनाउँदै आगामी दिनमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।
वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएसँगै स्थानीय कांग्रेस कार्यकर्ताहरूले आगामी अधिवेशनहरू पनि सहमति, सहकार्य र एकताको वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।













