कञ्चनरूप, १९ साउन। सप्तरीको कञ्चनरूप नगरपालिका–४ जगतपुरमा सर्पदंशका कारण एक ६ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय श्यामलाल सदाका छोरा कार्तिक सदा रहेका छन्।
मंगलबार दिउँसो छिमेकीको घरमा टेलिभिजन हेरिरहेका बेला उनलाई सर्पले टोकेको स्थानीयले बताएका छन्।
मृतककी आमा फुद्री सदाका अनुसार दिउँसो करिब १ बजे कार्तिकले आफूलाई केहीले टोकेको बताएका थिए। त्यसपछि परिवारले तत्काल उपचारका लागि कञ्चनपुर नगर अस्पताल पुर्याएको थियो। तर अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
कार्तिक स्थानीय इन्टरनेशनल लक्की इङ्ग्लिश स्कुलमा नर्सरी कक्षामा अध्ययनरत विद्यार्थी थिए।

















