स्वास्थ्य

कञ्चनरुपद्वारा ५१ जना अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क सहायक सामग्री वितरण

कञ्चनरुप , २०७७ पुष २६ गते । सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा , महिला तथा बालबालिका उपशाखा कंचनपुरले शनिबार अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क सहायक सामाग्रीहरु वितरण गरेको छ ।

राष्ट्रिय अपाङ्ग पुनरस्थापना समाज अनामनगर काठमाडौंको सहयोग र चन्द्रकिशोर कल्याणको समन्वयमा नगरपालिकाले १५ लाख मूल्य बराबरको ट्राई साइकल १० थान, विभिन्न प्रकारका ह्वील चेयर २९ थान , वैशाखी १० जोडी १० जनालाई, सेतो छडी ५ थान , वाकर दुई थान, एल्लो वैशाखी ५ थान गरी जम्मा ५१ जना अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिएको थियो ।

सामाग्री वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गर्दै अपाङ्ग मैत्री नगर बनाउने अभियानमा नगरपालिका लागेकै कारणले गर्दा आज ५१ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्रीहरु वितरण गर्न सफल भएको बताउनु भयो ।


राष्ट्रिय अपाङ्ग पुनरस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले सप्तरीको १८ वटा पालिका मध्ये कञ्चनरुप नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको बारेमा सम्बोधन गरेको र हरेक क्षेत्रमा राम्रो काम गरेको हुनाले हामीले नगरपालिकासँग समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरुले सहज वातावरणमा जिविकोपार्जन गर्न सकुन भनेर सहायक सामग्री वितरण गरिएको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


वडा नम्बर १० का वडा अध्यक्ष दिलीप कुमार चौधरी , कार्यपालिका सदस्य अनन्तलाल धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडका , सामाजिक विकास शाखा महिला तथा बालबालिका उपशाखाकी महिला विकास अधिकृत सुशिला चौधरी , भावना घिमिरे , सहयोगी संस्थाकी सुनिता रिजाल , चन्द्रकिशोर कल्याण लगायतका वक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई सबैले माया प्रेमको सद्भाव राख्नुपर्ने बताउनुभयो ।
अपाङ्गता परिचय पत्र वितरण स्थानिय समन्वय समितिको संयोजक एवं नगर उपप्रमुख निरु पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page