विरगञ्ज । विरगञ्जमा मनोमानी भाडा असुली गर्ने दुई वटा एम्बुलेन्स र एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गण बाहिर सडकबाट ना २ च ३२५६ र ना ३ च ८१९९ नम्बरका दुई वटा एम्बुलेन्स र पर्सा बहुदरामाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका ३५ वर्षीय कमरुदिन रायभर र पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय वीरबल मुखियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सामा एम्बुलेन्स चालकहरुले कोरोना भाइरस (कोभिड १९) संक्रमणको विषम परिस्थितीको फाइदा उठाउदै संक्रमित तथा मृतकका आफन्तहरुबाट मनोमानी भाडा असुलेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई कालोबजारी सम्बन्धि कसूरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
साथै पर्सा जिल्लाभित्र कुनै पनि व्यावसाय वा सेवा प्रदायकले सेवाग्राहीहरूलाई कुनै सामान वा सेवा प्रदान गरेबापत तोकिएको दर भन्दा बढी मूल्य लिएमा जिल्ला प्रहरी कार्यालय पर्सामा तत्काल सूचना दिई कालाबजारी नियन्त्रण गर्ने कार्यमा सहयोग गर्न समेत आग्रह गरिएको छ ।




Add Comment