स्वास्थ्य

कञ्चनरुप नगरपालिकाद्वारा २५ थान अक्सिजन लगायतका स्वास्थ्य सामाग्री खरिद

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी), ६ जेठ ।
कोरोना भाइरस (कोभिड –१९) को दोस्रो भेरियन्टको संक्रमण तीब्र रुपमा समुदाय स्तरमा फैलिन थालेपछि सप्तरीको कञ्चनरुप नगरपालिकाले अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु खरिद गरि ल्याएको छ ।
अक्सिजन सिलिण्डर पच्चीस थान , अक्सिजन कन्सनट्रेटर चार थान, क्यान अक्सिजन बीस थान, पल्स अक्सिमिटर पच्चीस थान , कोरोना परीक्षणका लागि पाँच सय थान एन्टिजेन किट खरीद गरी ल्याएको स्वास्थ्य शाखाका सह–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले बताउनुभयो ।
अक्सिजन लगायतका सामाग्रीहरु नगरपालिकाले स्थापना गरेको कोभिड अस्पतालमा राखिने स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले जानकारी दिनुभयो ।

अहिले नगरपालिकाको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लागेको र जनतालाई कोरोना संक्रमणबाट जोगाउनका लागि नगरपालिकाले सम्पूर्ण कामलाई थाति राखेर कोरोना बिरुद्धको अभियानमा लागेको नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
अहिले अक्सिजन बिना जनतालाई जोगाउन गाह्रो हुने भएकाले नगरबासीलाई कोरोना संक्रमणबाट जोगाउनका लागि नगरपालिकाले अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु खरिद गरी ल्याएको प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page