सप्तरी । सप्तरी प्रहरीले सामूहिक बलात्कारको घटनाको १४ वर्षपछि एक अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ का ओमप्रकाश मुखिया रहेका छन।
एउटै परिवारको बुवा, छोराहरू र ज्वाइँ मिलेर बलात्कार गरेको घटना आएको थियो । उनी नाताले भिनाजु पर्ने रहेछन।
भारतमा अपराध गरेर आएका उनी लामो समयदेखि नेपाल बसेर नागरिकता लिएको र उनको नाम नै लोकेन्द्र, लफेन्द्र, जोगिन्द्र भनेर बोलाउने ओमप्रकाश एउटै व्यक्ति भएको र जाहेरवालीले नै पहिचान गरी लिखित सनाखत गरेकाले अदालतमा बुझाइएको एसपी राजेन्द्रप्रसाद धमलाले बताए। अदालतले उनलाई कैदसजाय पुरा गर्न राजविराज कारागार पठाएको छ।
पीडितकी आमा जाहेरवालीले दिएको जानकारी अनुसार ०६४ असोज ९ गते दिउँसो गाउँका आठदेखि १२ वर्षका ६ जना नाबालक बालबालिका मिलेर भैंसी चराउन सँगै कोशी टप्पु कटैया पलार गएका बेला आरोपितहरूले बालकलाई हतियार देखाई डोरीले बाँधी कुटपिट गरे पश्चात बालिकालाई घना काँसघारीमा लगेर पालैपालो बलात्कार गरेका हुन्।
सप्तरी जिल्ला अदालतका तत्कालीन न्यायाधीश श्रीप्रसाद सञ्जेलले २०७५ असार ५ गते नाबालिकालाई सामूहिक बलात्कार गरेको अभियोग ठहर गर्दै मुखियासहित चार जनालाई जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ।
उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र दिपेन्द्र अधिकारीको इजलासले जनही १३ वर्ष कैदसँगै क्षतिपूर्तिबापत जनही २० हजार रुपियाँका दरले भराई पाउने भनी ०७७ मङ्सिर ८ गते आदेश गरेको शाखा अधिकृत रामचन्द्र बस्नेतले बताए।
आरोपितमध्ये श्यामा मुखिया ०७७ चैत ९ गते पक्राउ भई राजविराज कारागारमा कैद सजाय भोगिरहेका छन्। श्यामाका दाजु डोमीको मृत्यु भएकाले सजाय माफी भएको छ। उनीहरूको बुवा बिकु फेला परेका छैनन्।




Add Comment