साहित्य / लेख रचना

कोइरालाको ‘बुढ्यौली विषयक लघुकथा ‘डगल्यान्ड’ ले पायो १५ हजारको पुरस्कार

राजविराज, २१ कात्तिक । लघुकथा प्रतिष्ठान, नेपालले दोस्रो वार्षिकोत्सवमा आयोजना गरेको ‘बुढ्यौली विषयक लघुकथा अभियान–२०८०’ मा ‘डगल्यान्ड’ शीर्षकको लघुकथा सर्वोत्कृष्ट भएको छ ।
सर्वोत्कृष्ट हुन सफल ‘डगल्यान्ड’ लघुकथाका सर्जक पिपि कोइरालालाई नगद रु १५ हजारसहितको पुरस्कार दिइने अभियानका संयोजक मनोहर पोखरेलले जानकारी दिनु भयो । ।
तीन चरणमा छनौट हुँदै आएको ११ उत्कृष्ठ लघुकथामध्ये निर्णायक संयोजक डा. राजेन्द्र विमलको निर्णायक समितिले सुनसरीको धरान १३ का कोइरालाको ‘डगल्यान्ड’ लघुकथालाई सर्वोत्कृष्ट ठहर गरेको हो ।
निर्णायक सदस्यहरूमा साहित्यकार रमेन्द्र कोइराला, खगेन्द्र बस्याल र तुलसा रहनु भएको थियो । वि.स. २०७८ कात्तिक ३ गते स्थापित प्रतिष्ठानको व्यवस्थापकमा मलन समूह अर्थात् मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्य क्रियाशील हुनुहुन्छ ।
गत साता कोइरालाको ‘डगल्याण्ड’ शीर्षकको लघुकथासहित उमानाथ दाहालको ‘नामसारी’, शारदा दहालको ‘इच्छामरण’, सुनिता निरौला पौडेलको ‘चौरासी पूजा’, तिलक तारामी रेशालीको ‘बचत’, गंगा खड्काको ‘तीर्थ’, शुक्रराज कुँवरको ‘सहारा’, निर्मला बरालको ‘साथी’, रचना शर्माको ‘बुढ्यौली’, प्रेम पुन मगरको ‘वृद्ध’, ध्रुवराज थापा पुरूषको ‘पीडा’ शीर्षकको लघुकथा गरी ११ लघुकथाहरू उत्कृष्ट ११ को सूचीमा परेका थिए ।
सर्वोत्कृष्ठ हुने कोइरालालाई एजिङ नेपाल अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ का तर्फबाट पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ ।
वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानलाई प्राप्त प्रतिस्पर्धी ५३ र अप्रतियोगी ४१ गरी ९४ लघुकथालाई समेटी ‘सन्दर्भ’ लघुकथा प्रधान पत्रिकाको सातौं अङ्क प्रकाशन गरिएको छ ।
लघुकथा प्रतिष्ठान, नेपालले स्थापनाकालदेखि दैनिक लघुकथा विमर्श र प्रशिक्षणको काम गर्दै आएको छ । हाल शुक्रबार रातको ६ः३० देखि ७ः३० बजेसम्म र अन्य दिन रातको ७ः५५ बजेदेखि ८ः३० बजेसम्म् लघुकथा वाचन, विमर्शलगायतको कार्याक्रम भइरहेको छ ।
त्यस्तै विविध सन्दर्भमा मासिक लघुकथा प्रतियोगिता अभियान सञ्चालन गरिरहेको छ ।
पिपि कोइराला २०४८ सालदेखि हालसम्म निरन्तर लघुकथा लेखनमा सक्रिय हुनुहुन्छ । शिक्षण पेसाबाट अवकास कोइरालाको अभिभावक शिक्षा सन्दर्भको एक शैक्षिक पुस्तक प्रकाशन छ । उनको लघुकथा कृति प्रकाशोन्मुख छ ।

प्रस्तुत छ ‘डगल्यान्ड’ लघुकथाको पाठ्य रुप–
समाजशास्त्रका एक वृद्ध प्राध्यापक डा। हरिप्रसादले लेक्चर दिँदै गर्दा एउटा विद्यार्थीले सोध्छ, “यो डगल्याण्ड त अचम्मको सुनियो त १ विश्वको नक्शामा कहाँ छ सर ?”
अरु विद्यार्थी गललल हाँस्छन् ।
अर्को विद्यार्थीले पनि निकै उत्सुकतापूर्वक सोध्छ, “यसको खास भुगोल चाहिँ कहाँ पर्छ सर ?”
सर पनि जोसिदै जवाफ दिन्छन्,”पृथ्वीको जताततै पर्न सक्छ ।”
फेरि सबै हाँस्छन् ।
अर्की विद्यार्थी हाँस्दै सोध्छिन्,”त्यो ल्याण्ड बनेपछि के देख्न पाइन्छ त सर ? ”
सर भन्छन,”अरु केही होइन जताततै कुकुरै कुकुर देखिन्छन् ।”
कक्षाभित्र फेरि ठूलो ठहाका गुन्जन्छ ।
सर भनिरहन्छन्, “त्यो डगल्याण्डमा प्रायः सबै काम कुकुरहरुकै जिम्मामा आउनेछ । त्यस ल्याण्डको हरेक चोक, गल्ली, टोलतिर चाहिँ अन्य भुस्याहा र वेवारिसे कुकुरहरुको हुल वा जमात देखिनेछन् । बाटोमा मानिसहरुले ती कुकुरहरुबाट आफुलाई जोगाउन आफ्ना घर पालुवा कुकुरहरु अनिवार्य साथमा लानु पर्नेछ ।”
प्राध्यापक अझै हाँस्दै लेक्चर दिइरहेका हुन्छन्, “घरै पिच्छे कुकुरका निम्ति कोठाहरु र मासुका परिकारहरु बन्नेछन् । मानिसहरु आफ्ना वृद्ध बाबुआमालाई त्यागेर कुकुरहरुलाई मात्र महत्त्व दिनेछन् ।”
विद्यार्थीहरुले सोच्दछन् – “प्राध्यापक वृद्ध भए पनि भविष्यवाणी त ठ्याक्क मिल्ने गरी पो भन्दा रहेछन् ।”

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page