मधेस प्रदेश समाचार

राजविराज कारागारको शौचालयमा एक जना बन्दी मृत फेला, चैतयता ६ जना कैदीको मृत्यु

राजविराज । सप्तरी जिल्ला कारागार राजविराजमा एक जना कैदी मृत अवस्थामा फेला परेका छन ।
बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन ।
मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको राजविराज कारागारकाले जनाएको छ ।
१५ वर्षीया बालिकालाई २०८० साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा रहेको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले साउन १७ गते गिरफ्तार गरी साउन १८ गते बलात्कारको उजुरी दर्ता गरेको थियो ।
जिल्ला अदालतमा भदौ १० गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले भदौ ११ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । फैसला हुन बाँकी रहेको थियो ।
पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको परिवारलाई घटना थाहा पाएलगत्तै कारागारले जानकारी दिएको र उनका परिवारका सदस्यहरु आएपछि शवको मुचुल्का गरिएको निमित्त कारागार प्रशासक सदानन्द दासले बताए।
कारागारमा चैतयता ६ जना कैदीबन्दीको मृत्यु
आज आइतबार कारागारमा मृत्यु भएको समेत गरि चैतयता ६ जना कैदीबन्दीको मृत्यु भएको छ ।
यसअघि राजविराज कारागारका कैदी कञ्चनरुप नगरपालिका–३ का ३५ वर्षीय गोरिया भनिने वीरेन्द्र कुमार मलाहाको माघ १० गते उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो।
त्यस्तै लागु औषध मुद्दामा सजाय काटिरहेका सप्तरीको तिरहुत गाउँपालिका–५ का २४ वर्षीय सिन्दु भनिने सिन्धु सदाको पनि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा चैत २८ गते मृत्यु भएको थियो।
बलान विहुल गाउँपालिका–३ मौवाहाका ६९ वर्षीय लक्ष्मण साह तेली भनिने धनिलाल साहको वैशाख ५ गते मृत्यु भएको थियो।
मानव बेचबिखन ओसारपसार मुद्दामा कैद सजाय काटिरहेका महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको वैशाख ७ गते राति मृत्यु भएको थियो।
कैद भुक्तान गरिरहेका राजविराज नगरपालिका–१५ मुसहर्नियाका ६५ वर्षीय नन्दी भनिने नन्दलाल मण्डलको समेत मङ्सिर ५ गते मृत्यु भएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page