धर्म संस्कृति समाचार

‘खोत्तर देवी’ मा धार्मिक पर्यटकको घुइँचो

उत्सव आचार्य /
कञ्चनरुप । नयाँ वर्षको दिन धार्मिक स्थल खोत्तर देवीमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । मनले मागेको मनोकामना पूरा हुने विश्वासका साथ सप्तरीसहित विभिन्न जिल्लाबाट दर्शनार्थीको घुइँचो लागेको खोत्तर देवी मन्दिर संरक्षण समितिले जनाएको छ ।
सप्तरीको कञ्चनरुप ११ बक्साहा देखि २ किलो मिटर उत्तर चुरे पर्वतको खोचमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको खोत्तरदेवी गुफालाई आस्थाको केन्द्र मानिन्छ ।
यस गुफामा नयाँ वर्षको दिन २० हजारभन्दा बढीले दर्शन गरेका छन् । यस गुफामा जे माग्यो त्यही पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।
भाकल गर्नेले इच्छा पूरा भएको भन्दै बोका, परेवा, बिरालो, भान्टा र भेटी चढाउने गर्छन् । जे भाकल गर्‍यो त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ।
वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित गुफाबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ ।

मनको इच्छा पूरा हुने विश्वासले मन्दिरको दर्शन गर्न आउने भक्तजनले पूजा गरेपछि भेटी चढाउँछन्।
यस गुफामा जाँदा अनौठो यात्राको अनुभव हुन्छ र मन प्रशन्न भई आनन्द आउँने गर्दछ । यो शक्ति पिठ चुरे पर्वतको खोचमा रहेको हुँदा यस गुफालाई पहिलो खोंची देवी भन्ने गरिन्थ्यो त्यसपछि खोतरादेवी , खोतरदेवी हँुदै हाल आएर खोत्तरदेवी भन्न थालिएको हो ।
खेत्तरदेवी गुफा परिसरमा कहिल्यै नसुक्ने अजम्बरी दह , भिमसेन थान रहेको र यस ठाउँमा मेला समेत लाग्ने गर्नाले पनि यस गुफाको महत्व बढेर गएको हो ।
दहमा शुद्ध आत्माले लुगा सहित नुहाउने र नुहाउँदा लगाएको लुगा त्यही दहमा चढाउने र नयाँ लुगा लगाए। पूजा गरेमा चर्म रोग निको हुने , सन्तान नभएकालाई सन्तान प्राप्ति हुने , विवाह नभएकाको विवाह समेत हुने र आफूले चिताएको पुरा हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

यस दिन यस ठाउँमा भव्य रुपमा मेला समेत लाग्ने गर्दछ । मेलामा सप्तरी , सिरहा , उदयपुर , सुन्सरी र छिमेकि देश भारतको बिहार बाट हजारौंको संख्यामा भक्तजनहरु आई देवीको दर्शन गरी पूजा आरधना गरी आशिर्वाद लिने गर्दछन् र मेलामा रमाउने समेत गर्दछन् ।
खोत्तरदेवी गुफा जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संरक्षण , सम्बद्धन र प्रचारप्रसार गर्न सके ग्रामिण पर्यटनको विकास भई मुलुकको अर्थतन्त्रमा समेत उल्लेख्य टेवा पुग्न जाने सरोकारवालाहरुको भनाई रहेको छ ।

   

You cannot copy content of this page