समाचार

राजविराज जेसीजका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई ‘प्रेरणादायक तालिम’

राजविराज ,२०७७ माघ ५ गते । राजविराज जेसीजले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई ‘प्रेरणादायक तालिम’ दिएको छ ।
तालिमको उद्घाटन गर्नुहुँदै राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेलले जेसीजको स्थापना, उद्देश्य र दर्शनका बारेमा जानकारी दिनुभयो । जेसीजले युवाहरुलाई विभिन्न सामाजिक तथा व्यक्तिगत जिम्मेवारीमा सामेल गराई व्यक्तित्व र नेतृत्व विकासको तालिममार्फत क्षमता अभिबृद्धि गराउने तथा परिवार, समाज र राष्टप्रति जिम्मेवार बनाउने पोखरेलले बताउनु भयो ।
राजविराज जेसीजका अध्यक्ष सिद्धार्थ तातेडको अध्यक्षता एवम नयाँ कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको तालिममा नेपाल जेसीज एरिया ए का पूर्व तालिम कोर्डिनेटर भुवन राउतले प्रशिक्षण दिनुभयो । प्रशिक्षक राउतले जेसीजमा आबद्ध सबैका लागि तालिम आवश्यक रहेको बताउनु हुँदै नेतृत्वसिप हस्तान्तरण गर्ने कुरा भएकाले सक्षम नेतृत्व उत्पादन गर्न स्वयम् सक्षम र आत्मनिर्भर हुनुपर्ने बताउनु भयो । प्रत्येक मानिसभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउन उपयुक्त वातावरण र अवसरको आवश्यक्ता रहेकाले प्रेरणादायी र सकारात्मक भूमिका निकै जरुरी रहेको बताउनु भयो ।


राजविराज जेसीजका अध्यक्ष तातेडले जेसीज आस्था र दर्शनबमोजिम नयाँ कार्यसमितिका पदाधिकारीलाई प्रेरणा मिलोस् भनेर तालिमको आयोजना गरिएको बताउनुभयो । आफुमा भएको क्षमतालाई बाहिर ल्याउने भूमिका जेसीजले निर्वाह गर्दै आएकोले त्यसको महत्व बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । तालिमले सक्रिय नागरिकको भूमिका निर्वाह गर्न तथा जीवनलाई सार्थक बनाउन सहयोग पुग्ने सहभागीहरुले बताउनु भयो ।
महासचिव राजेशकुमार मण्डलले सञ्चालन गर्नुभएको कार्यक्रममा तालिम संयोजक अनिषा ठाकुरले तालिमको औचित्यमाथि प्रकाश पार्नुहुँदै युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशिलताको विकासका लागि प्रत्येक महिना आवश्यक र फलदायी तालिमको आयोजना गरिने बताउनु भयो ।
राजविराज क्षेत्रका युवाहरुलाई समेट्दै सन् १९७६ मा स्थापना भएको राजविराज जेसीजको शनिबार ४६औं पदस्थापन समारोह सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page