समाचार

कञ्चनरुप -१२ मा वडा स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति गठन

डम्बर राई –
कञ्चनरुप । लैङ्गिक हिंसा बिरुद्ध आम नागरीकलाई सचेत गराउने उद्वेश्यले सप्तरीको कञ्चनरुप नगरपालिका १२ मा वडा स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिती गठन भएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर र वडा कार्यालयको संयुक्त पहलमा शुक्रवार १२ नम्बर वडा कार्यालय सभाहलमा आयोजित भेलामा ११ सदस्य सञ्जाल समिती गठन भएको हो ।
गठित समितीको अध्यक्षमा समाजसेवी लिल बहादुर मगर, उपाध्यक्ष सुनिता बस्नेत, सचिवमा वडाध्यक्ष देवी बहादुर खत्री छन् । सदस्यहरुमा प्रधानाध्यापक शंकर तिम्सीना, वालसञ्जालकी पुनिता कुमारी साह, लविन राउत, हीरा कार्की, हेमा श्रेष्ठ, भक्त नारायण श्रेष्ठ, दिपक भट्टराई, विनिता कार्की तथा तीन सदस्य सल्लाहकार समितिमा संचारकर्मी डम्बर राई, राधिका श्रेष्ठ र जैतुन खातुन छन् ।

समाजमा हुदै आएका गलत तथा नकरात्मक कार्य एवं हिंसात्मक क्रियाकलापलाई रोक्न समितिले आवश्यक पहल गर्ने छ । आयोजित भेलामा कञ्चनरुप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्ताले भने, समाजमा विकृती आउन नदिन पहिला त समाजमा यसवारे जनचेतना आउन जरुरी छ । जबसम्म समाजका हरेक वर्ग तथा समुदायलाई ज्ञानको वोध हुदैन र कुन चिजवस्तुले हामीमा के हानी गरेको छ ? गलत र विकार वस्तुको अन्त्य गर्न हामी लाग्दैनौ वा सोच्दैनौ तब विकृती र विसंगतीको अन्त्य हुदैन गुप्ताले बताए ।
समाजमा कुनै पनि कुरा उठाउदा वा व्यवहारमा प्रयोग गर्दा विभेद हुने खालको काम गर्न नहुने बताउँदै गुप्ताले राजनीतिक प्रसंगमा भने, हामीले यो र त्यो पार्टी छुट्टयाउने मनोभावनाले पनि समाजमा द्वन्द निम्तीएको बताए । तेरो मेरो, ठुलो सानो, भन्ने प्रवृती हिंसा हो तसर्थ यस्तो नकरात्मक सोंचलाई हटाउन सके समाजमा कुनै पनि प्रकारको हिंसा हुदैन उनले थपे ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक राम कुमार यादवले कञ्चनरुप नगरपालिकाको वडा १२ मा लागु औषध दुव्र्यसनी बढी पाइएको बताए । गाँजाको कुरा सामान्य हो जहाँ की ब्राउन सुगर समेत फेला परेको छ उनले भने, आफु सरुवा भएर आएको तीन महिना नबित्दै ब्राउन सुगर पक्रेर कार्वाही गरेको छु । यस्ता दुव्र्यसनीमा लाग्नेको संख्यात्मक हिसावले हेर्दा यसै वडामा बढी छन्, घरेलु मादक पदार्थ बनाउने र सेवन गर्ने पनि यहि बढी पाइयो डिएसपी यादवले आँकडा सुनाए ।

उनले महिला, वालवालिका, वृद्घमा हुने हिंसा र तिनको नियन्त्रणवारेमा जानकारी दिदै सञ्जाल समितिको काम कर्तव्य र नेपाल प्रहरीसंग समन्वय तथा साझेदारी सम्बन्धी लगायत कार्यक्रमको उद्वेश्यमाथी प्रकाश पारेका थिए । सोही अवसरमा यादवले लागु औषध तथा मनोदिपक पदार्थबाट हुने बेफाइदा र सेवनकर्तामा देखा पर्ने लक्षणहरुको वारेमा प्रष्ट पारे । यस्ता कुलतमा लाग्ने कारण र त्यसबाट बच्ने उपायवारे जानकारी गराउँदै यादवले गाउँबस्तीका युवाहरुलाई निगरानी गर्न वा उनिहरुको आचरण बानी विचार गर्न सुझाव दिए ।
वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा आयोजित भेलामा जननिर्वाचित वडा सदस्य जैनुद्विन मियाले स्वागत मन्तव्य दिइएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page