धर्म संस्कृति समाज साहित्य / लेख रचना

त्यो बेलाको कोशी मेला –शिव आचार्य

आज पुषी पुर्णिमा अर्थात कोशी मेला लाग्ने दिन । आजकै दिन सप्तकोसी नगरपालिका को वडा नं. ८ स्थित म्यागजिन चौरियामा लाग्ने भब्य मेला । जहाँ नेपालका पुर्वी शहर काकडभिट्टा देखि बिरगन्ज सम्मका व्यापारी व्यापारका लागि आउने थलो हो भने किनमेल गर्नेको बाक्लो भिडभाड । भिडभाड पनि यस्तो कि साथ छुटो भने साथि नभेटी घर पुगिन्छ ।
कुनै बेला थियो कोशी मेला भने पछि हुरुक्कै हुने मेरो उमेर । जस्तो सुकै बाधा अडचन आइलागे पनि नगइ नछोडने ।
घरको दैनिकी गर्नुपर्ने काम बस्तुभाउ चराउनु पर्ने ,कोशी मेलाका दिन गाइबस्तु खासै नफुकाउनु पर्दा त्यो दिनको समेत घाँस को जोहो गर्नु पर्ने । जसो तसो ब्यबस्था गरिन्थ्यो। र मेला को दिन पुर्णता फुर्सद मिलाइन्थो।
घरमा बुवा ,आमा,दाजु ,भाइ दिदी,बहिनी गरि ठूलो जनको परिवार । घरमा आम्दानी को स्रोत केही नभएकाले घर खर्च धान्नै बुवा आमालाइ सास्ती , खेतिपाती पनि थोरै भएकाले खानलाउनै नपुग्ने , अझ बाहिरी खर्च गर्न त सपनाकै कुरो । त्यसकारण कोशिमेला को खर्च जोहो पनि आफैले गर्नु पर्ने ।
केटाकेटी उमेर म सङै मेरा छिमेकी साथिहरु पनि कोशी मेला खर्छ जोहो गर्न एक ढेड महिना अगाडि देखि तल्लिनहुन्थ्यौ।
पैसाको को कुरो कपी र रिफिल किन्न मात्र घर बाट मात्र प्राप्त हुन्थ्यो।त्यो पनि खान का लागि भकारी मा राखिएको धान झिकेर गणपति को मा नबेची पैसा हुदैनथ्यो।डटपेन किन्ने पैसा नहुदा रिफिल नै किनेर सन्ठी को दुलो मा छिराएर डट बनाइ लेखिन्थ्यो। वा कहिले काहीँ साथिहरुका पुराना डटपेन का खोल खोजी त्यस भित्र हालेर लेखिन्थ्यो ।
प्राय जसो कोशिमेला पुस को अन्तिम साता तिर पर्ने भएकाले पैसा को ब्यबस्था अलिक सजिलै हुन्थ्यो। स्कुल बाट घर आएर होस वा छुट्टि को दिन मेरो दैनिकी नै गाई ,गोरु,र भैंसी चराउने हुन्थ्यो । यी बस्तुभाउ मङ्सिर देखि चैत्र सम्म पश्चिम पट्टि (ढिक वा कुशेश्वरको पोखरी) तिर चराउन लगिन्थ्यो। सबै तिर धान काटेर घर लगेको हुन्थ्यो भने पराल खेत मै हुन्थ्यो। हामी सबै गोठाले साथिहरु कोशि मेला खर्छ का लागि धान सिला खोज्थ्यौ र जम्मा पारी बेच्थ्यौ। ती खेतहरुमा जसको भर्खरै धान कत्रीदै गरेको हुन्थ्यो ती खेतहरुमा सिला गर्नु हाम्रो प्रमुख प्राथमिकता हुन्थ्यो । बस्तुभाउ छाडा छोड्यो , आफ्नो ध्यान जति सक्दो धेरै धान सिला गर्ने ।

हाम्रो यो दैनिकी १५/२० दिन निरन्तर चल्थ्यो। प्राय जसो दिनको १ पाउ देखि आधा किलो जति धान सिला गर्थ्यौ। सिका धान बाट आधा छुट्ट्याएर खाजा खान्थ्यौ। गोठालामा जादा दिउँसो ठिक दुई बज्यो कि त हाम्रा आँखा पुर्वी फर्किन्थे । चोक तिर । नहर को पुल कुना बाट मुरी (भुजा) बाली कति खेर आउछे भनेर । बिहान को भातले ठाउँ छोडी सकेको हुन्थ्यो। मुरी साट्न प्राय ठकनी दिदी आउथिन । हामी हबरदबर धान सिला मा ब्यस्त हुन्थ्यौ। तब सम्म ठकनी दिदि आउथिन । हामी एक मुनि बराबर एक मुनि मुरी साट्थ्यौ र मुरी सङ सङै ठकनी दिदी ले दिएको अनादिको चटनी सङ स्वादिलो मान्दै चटनी र मुरी खेतको आलिमा बसेर खान्थयौ।
मुरी साटेर बाकी भएको धान भने हामी घर ल्याउथ्यौ र एउटा माटाको गाग्रा मा कपडा को बुजो लगाएर राखी जम्मा गर्थ्यौ। यसरी जम्मा गर्ने क्रम १५/२० दिन सम्म चल्थ्यो र २/३ किलो भए पछि बेच्थयौ। बेच्नु अघि कसले बढी मोल गर्छ त्यसैलाइ बेच्ने भनेर हामि ब्यापारीका घर घर दाम बुझ्दै हामी हिड्थयौ र बढी दाम दिनेलाई बेचेर हिडथ्यौ।
यसरी त्यसरी बेचेको धानको पैसाको केही अंश घर मा बुझाउथयौ र बाकी मेला खर्छ हुन्थ्यो। बालक कालको उमेरमा हाम्रो नुहाउने नुहाउने स्थान प्राय चन्द्रनहर मा गइ नुहाएर आइ दिउँसो मेला जाने तयारी हुन्थ्यो। हामिसङ त्यस्तै ८ / १० रिपैया हुन्थ्यो होला । त्यस भित्र आज किन्ने सामान का लिस्ट मनभरी हुन्थे। मुरली , प्लास्टिक को चस्मा,मेरो पहिलो प्राथमिकता हुन्थ्यो। घर फर्किदा प्लास्टिक बाट बनेको चश्मा लगाइ मुरली बजाउदै घर आएको पत्तै हुदैन थियो। यसको अलवा कागचको फिरफिरे , सिठ्ठी,मुखुन्डो पनि मेरो रोजाइमा पर्थ्यो तरपैसो नहुदा यति मध्य एक दुई मात्र किनिन्थ्यो।ती सामान किन्न हाम्रा बुताले पुग्दैन थियो।

यस्तै एक दुई सामान किने पछि हाम्रो आँखा पुग्थ्यो जुलेबी पसल तिर । कोशिमेलाको बिशेषता नै भन्नू पर्छ जिलेबी खाने मेला। गएका सबैसाथिले आधा आधा पाउ त कोहिएक एक पाउ जुलेबी किन्थयौ र त्रियुगा खोलाका छेउमा बसि खान्थ्यौ र त्यही पानीले मुख धोइ पुन मेला घुम्थ्यौ। मेला मा हुने होटल ,पसल ले पानी पनि त्यही खोला को चलाउथे। कल हुदैन थ्यो।गाउबाट पानी ल्याउन असम्भब थियो।
त्यसबेला माछा,मासु का होटल तिर हामी हेरेर मात्र चित्त बुझाउथ्यौ।भित्र पस्ने हाम्रो आट हुदैन थियो। जुलेबी का अलवा अन्य मिठाई का परिकारका भाउ सोधेर मात्र चित्त बुझाउथ्यौ। महङा चिज हाम्रा कुनै पनि प्राथमिक्ता मा पर्दैन्थे। जुलेबी खाए पछि रैनी दिदि ले बेच्न राखेका उसिने सिङै आलु जा दाना लाइ बाहिर बाट नुन खोर्सानी दलेका हेर्दै खाउ खाउ लाग्ने आलुका दाना आठाना का दुई दुई दाना किनि खाइन्थ्यो।कोशी मेला मा बनेको कौशिकी माता को मुर्ती धुइपताल खोजेर भए पनि दर्शन गरि साझ घर्फिरिन्थौ।बाटो भरी चश्मा लगाउदै बासुरी बजाउदै घर पुगिन्थ्यो।
कोशी मेला को दिन हिजो आज जस्तो बस,जिप ,कार ,बाइक ट्याक्टर आदि कमै मात्र जान्थे।गङाजली तिर बाट मेला भर्न आउने गोरुगाडा मा गोरुलाइ सिङार पटार गरि कौडाको माला लगाइ घाटिमा टङरङ टनरङ गरि कराउने घन्टी बजाउदै गोरु गाडा माथी बसेर लर्को लाउदै मेला भर्न जाने को लाइन ले आज पनि त्यो कोशी मेला को याद आउँछ । फरक यति छ आज गोजि भरी पैसा छ मेला मा खान केही हुदैन , त्यो समय पैसा थिएन खान सबै हुन्छ।
** लेखक — शिव आचार्य
सप्तकोशी नगरपालिका
फत्तेपुर सप्तरी ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page