समाचार समाज

राजविराजमा छोराको तुलनामा छोरीको जन्म दर कम

राजविराज । सप्तरीको राजविराजमा छोरीको तुलनामा छोराको जन्मदर्ता दर बढी छ । राजविराज नगरपालिकाको एक वर्षको तथ्याङ्क अनुसार छोरा जन्मने दर छोरीको भन्दा बढी रहेको छ ।
राजविराज नगरपालिकाको पञ्जिकरण शाखाको तथ्याङ्क हेर्दा ९ सय ३४ छोराको जन्म भएको छ भने ७ सय २० छोरी जन्मिएका हुन् ।
पञ्जिकरण शाखाका एम.आई.एस. अपरेटर रविन्द्रकुमार साहका अनुसार जम्मा १६ ओटा वडा रहेको नगरपालिकाको वडा नं ३, ५, ७ र १२ मा छोरी जन्मिएको तथ्याङ्क बढी छ भने अन्य १२ ओटा वडामा छोराले बढी जन्म लिएका छन् ।
२०८० वैशाख १ देखि चैत मसान्तसम्म वडा नं १ मा १ सय २४ पुरुष र ८६ महिला, वडा नं २ मा ३८ पुरुष र २० महिला, वडा नं ४ मा ५३ पुरुष र ३९ महिला, वडा नं ६ मा ६५ पुरुष र ३८ महिला, वडा नं ८ मा ३३ पुरुष र १६ महिला, वडा नं ९ मा १ सय ३३ पुरुष र १ सय १ महिलाको जन्म दर्ता भएको छ ।
यस्तै वडा नं १० मा १ सय ३ पुरुष र ८१ महिला, वडा नं ११ मा ५१ पुरुष र ४० महिला, वडा नं १३ मा ६८ पुरुष र ५९ महिला, वडा नं १४ मा ४७ पुरुष र २७ महिला, वडा नं १५ मा ५९ पुरुष र ४६ महिला तथा वडा नं १६ मा ३५ पुरुष र २३ महिलाको जन्मदर्ता भएको छ ।
छोरीको सङ्ख्या थोरै मात्रले बढी भएको वडामध्ये वडा नं ३ मा १८ पुरुष र २१ महिला, वडा नं ५ मा १० पुरुष र १४ महिला, वडा नं ७ मा ४३ पुरुष र ४९ महिला तथा वडा नं १२ मा ५४ पुरुष र ६० महिला जन्मिएको देखिन्छ ।
पछिल्लो समय दम्पत्तिहरूमा छोराको चाहना बढ्दै गएको र छोरीलाई भ्रुण हत्या गर्ने क्रम समेत बढेको स्वास्थ्यकर्मी तथा मानव अधिकारकर्मीहरू बताउँछन् । सहजै गर्भ पहिचान गर्न सकिने र गर्भपतन समेत गर्न सकिने भएका कारण छोरी भए गर्भपतन गराई छोरा राख्ने प्रवृत्तिका कारण छोराहरू जन्मने दर बढेको हो ।
महिला अधिकारकर्मी सुष्मा गुप्ताले शिक्षित आमा बुवाले समेत छोरी भन्दा छोराको चाहना बढी राखेको हुँदा छोराको जन्मदरमा वृद्धि भएको बताउनु भयो । ‘हाम्रो समाजमा अझै पनि छोराको चाहना बढी छ, उहाँले भन्नुभयो “छोरी अर्काको घरमा जाने र बुढेसकालमा छोराले पाल्ने सोचका कारण पहिलो बच्चा छोरी भएपनि दोस्रो बच्चा भने पहिचान गरेरै छोरा राख्ने प्रचलन बढेको छ ।” अबैधानिकरुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले पनि जन्मिएका छोरीको सङ्ख्या कम भएको हो । जन्मेपछि पनि छोराले उचित स्याहार र अधिकार पाउने तर छोरीले जन्मदर्ता लगायतको अधिकारमा समेत उपेक्षित हुनुपर्ने अवस्था रहेको गुप्ताले बताउनु भयो ।
सामान्यतया प्रकृतिमा छोरा भन्दा बढी छोरी जन्मन्छन् । विश्वभरमा गरिएको तथ्याङ्क हेर्दा १ सय छोरा जन्मदा १ सय ५ छोरीको जन्म हुन्छ । नेपालमा पनि छोरा भन्दा छोरी जन्मने सङ्ख्या बढी छ । तर, पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भएको नयाँ नयाँ प्रविधिको विकाससँगै मधेस प्रदेशमा यो प्राकृतिक नियम उल्टिएको छ ।
नेपालको जनसङ्ख्या अनुसार अन्य ६ प्रदेशमा पुरुष भन्दा महिला बढी देखिए पनि पछिल्लो समय मधेस प्रदेश र मधेसका जिल्लामा महिलाको सङ्ख्या कम देखिएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशमा ३० लाख ६५ हजार ७ सय ५१ पुरुष र ३० लाख ४८ हजार ८ सय ४९ महिलाको जनसङ्ख्या रहेको छ । #मनोहरकुमार पोखरेल (इन्सेक)

   

You cannot copy content of this page